FAQs Complain Problems

भोजपुर नगरपालिका आ.व. २०८२/८३ मा 'लाइक' परियोजनाको ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न

भोजपुर, असार ९। काठमाडौं विश्वविद्यालय मानविकी संकाय अन्तर्गतको लर्निङ, इनोभेसन एण्ड नलेज एक्सचेन्ज (लाइक) ल्याबले सञ्चालन गरिरहेको 'प्रोमोटिङ जेन्डर इक्वालिटी इन स्कुल्स, बिल्डिङ अन ह्वाट चिल्ड्रेन भ्यालु एण्ड एस्पायर टु डू एण्ड बी' परियोजना सम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम भोजपुर नगरपालिकामा सम्पन्न भएको छ। जिपिई-कीक्स (GPEKIX) र आईडीआरसी (IDRC) को आर्थिक सहयोगमा सञ्चालित उक्त परियोजनाले विगत एक वर्षदेखि भोजपुर नगरपालिकाका १३ वटा सामुदायिक विद्यालयमा 'लाइक क्लब' सञ्चालन गर्दै आएको छ। परियोजनाले लैंगिक समानता, समता र सामाजिक समावेशीकरणमा आधारित रही बालबालिकाले मूल्यवान ठान्ने शैक्षिक क्षमताहरूको प्रवर्द्धन र विस्तार गर्ने उद्देश्य राखेको छ। यसै क्रममा सम्बन्धित विद्यालयहरूमा लाइक क्लब गठन गरिनुका साथै ती मूल्य-मान्यताको प्रवर्द्धनका लागि विद्यालयगत रूपमा तोकिएका १३ जना लैङ्गिक तथा सामाजिक समावेशीकरण सम्पर्क व्यक्तिलाई तालिम पनि प्रदान गरिएको छ। नगरपालिकामा आयोजित उक्त ज्ञान आदानप्रदान कार्यक्रममा लाइक ल्याबका सदस्यहरूले परियोजनाको आधारभूत अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेका थियो। सोक्रममा सामुदायिक विद्यालयहरूमा सञ्चालित कार्यक्रमलाई समेटेर तयार गरिएको आधारभूत अनुसन्धान प्रतिवेदनको प्रस्तुतीकरणको साथसाथै परियोजनाको उद्देश्य, विद्यालयहरूमा लैंगिक समानता र सामाजिक समावेशीकरणको अवस्था, विधार्थीहरूले स्रोतको उपलब्धता, महत्व र सन्तुष्टिलाई दिएका अंक लगायतका विषयहरू समावेश गरिएको थियो। कार्यक्रममा परियोजना प्रमुख डा. विनायक कृष्ण थापाले परियोजनाले बालबालिकाले आफैं पहिचान गरेका १६ वटा शैक्षिक तथा जीवनोपयोगी क्षमतालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिरहेको र बालबालिकाको आवाजलाई प्राथमिकतामा राख्दै विद्यालयलाई सुरक्षित, समावेशी र समान अवसरयुक्त सिकाइ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो। उहाँले आगामी वर्ष यी लाइक क्लबहरूलाई नगरपालिकाका बाँकी ३० वटा सामुदायिक विद्यालयमा विस्तार गर्ने लक्ष्य रहेको समेत बताउनुभयो।